कोरोना, विज्ञान र समाज
नेपाली भाषामा दुई अक्षरे ‘ ईस् ’ भन्न साह्रै साजिलो शब्द हो । अझ हातले अघिल्तिर बस्नेको अनुहार लोपारे, झनै सशक्त्त हुन्छ । ‘ ईस् ’ शब्द तर्क, विश्लेषण, र तथ्यांकबाट निशृत छैन । आत्मरतिमा डुबे पुग्यो र आफुलाई हो जस्तो लागे भयो। नेपाली समाज र राजनीतिमा यो पहिल्यै देखीको चलन हो, नत्र किन शब्द जनजीब्रोमा झुन्डिने थियो र ? कोरोना महामारीमा रोग जस्तै ‘ ईस् ’ शब्दको प्रयोग पनि घातीय शैलीमा बढेको देख्न सक्छौं । केही समय अघि स्वास्थ्यमन्त्रीले एक विशेषज्ञ डाक्टरलाई लोपारे । मन्त्री वा उनका अघिपछीका वरिष्ठहरुको मनमा के थियो, हामीले के जान्नु । तर देख्ने सुन्ने धेरैलाई के लागेको हुनुपर्छ भने वरिष्ठहरुले भन्न खोजेको केही यस्तो थियो – ईस् विशेषज्ञ ! हामी वरिष्ठ हुम्, तिमी हैनौं । त्यसैले चुप लाग। यो निषेधको वाक्यमा थुप्रै गुढहरु लुकेका छन् । पहिलो, वरिष्ठहरुलाई विशेषज्ञ डाक्टरको ज्ञान, शिप, अनुसन्धान र दक्षताले केही परवाह राख्दैन। महामारीलाई विज्ञानले हैन पदको रवाफले नै नामेट पार्नेछ। पदसँगै स्वतः विशेषज्ञता आउँछ। वा वरिष्ठहरु डोनाल्ड ट्रम्प डाँगका स्वतः सर्वज्ञानी हुन् र अरु बाकीँ फेक न्युज। दोस्रो कारण, वरिष्ठहरुको लोकतन्त्रका मुल्यमान्यतामा खासै रुची छैन । हामी सरकार हौँ, बाकीँ प्रजा हौ । सुन, प्रश्न नगर । विवेक गोजीमा राख, र हाम्रो खटन खुरुखुरु मान । यो लेखमा हामी पहिलो कारणको विपक्ष– महामारीलाई ज्ञान, शिप, अनुसन्धान, लोकतन्त्र र विज्ञानले नै नामेट पार्ने हो – मा शब्द खर्चिदैँ छौँ ।
फेसबुक र छापामा पछील्लो समय विभिन्न रुपमा एउटा भाष्य धेरै सुन्यौँ – पश्चिमा विज्ञानलाई कोरोनाले पछार्यो ! हाम्रो पहिलो मतान्तर विज्ञानलाई पश्चिमा नामाकरण गर्नुमै छ । विज्ञानको प्रणालीमा न पश्चिमा छ न त पूर्वीया नै । विज्ञान छोटोमा भन्दा व्यवस्थित संयन्त्र हो जसले अवलोकन योग्य प्रमाणद्वारा (Evidence) परीक्षण योग्य अनुमानका (Hypothesis) आधारमा ज्ञानको निर्माण र व्यवस्थापन गर्दछ । नयाँ ज्ञानको निर्माणमा त्यो ज्ञानको परीक्षण सबै भन्दा महत्वपुर्ण छ – ईस् मैले भनेपछी हो भन्ने जिद्धिले काम गर्दैन । केही समयलाई शक्ति, नाम, जाती, राष्ट्रियता आदीले झुक्काउन सकिएला तर सधैँ सकिदैन। केहीले झुक्काउन खोजेका पनि छन् । स्टालिनले आफ्नो शक्तिको उपयोग गरेर १९३५ तिर हजारौँ कृषि वैज्ञानिकहरु लाई जेलनेल गरी ट्रोफिम लाईसेन्कोको भनाइलाई “ आधिकारीक नयाँ कृषि विज्ञान ” बनाए । तत्कालिन सोभियत कृषि एकेडेमीका प्रमुख वैज्ञानिक त विरोधका कारण जेल परे र पछि जेलमै मरे । अहिले कसले त्यो स्टालिनको “ आधिकारीक नयाँ कृषि विज्ञान ” पत्याउने । भविष्यका अलग समयका खोजकर्ताले अहिलेको शक्ति र नामलाई भन्दा त्यस बेलाको परीक्षणलाई विश्वास गर्नेछन् र योग्य प्रमाणको अभावमा झुटो ज्ञानलाई विस्थापित गर्नेछन्। अर्थात् कुनै ज्ञान विज्ञानमा मान्य भई राख्न अहिलेको परीक्षणमा मात्रै होइन, भविष्यका खोजकर्ताहरुको नयाँ परीक्षणहरुमा पनि पास हुनु पर् यो । यहीँ ज्ञानको खोज, जाँच र परीक्षणनै विज्ञान हो । विज्ञानमा पश्चिमा, पूर्वीयाको लेपन गर्न विज्ञानको विधिमा स्थानीयता त छैन, तैपनि हामी किन गर्छौँ – यो सोचनीय विषय हो । विज्ञानमा पश्चिमा वैज्ञानिकहरुको मात्रै योगदान भएको भए वा पश्चिमा मुलुकका नागरीकहरुले मात्रै उपयोग गर्न मिल्ने भएको भए विज्ञानलाई योगदान र उपयोगको आधारमा पश्चिमा नामकरण गर्न मिल्ने थियो। तर यथार्थ वेग्लै छ । विज्ञानको उपयोग त हामो सबैले यो लेख पढुन्जेल थुप्रै पटक गरी सक्यौँ । नेटमा पढ्नलाई विजुली, हातेफोन इत्यादीको आधारभूत भौतिकशास्त्रका नियमहरु जस्तै म्याक्सवैलको समीकरणहरु वा क्वान्टम भौतिकशास्त्रका समीकरणहरु प्रयोग गरिरहेकै छौँ । प्रिन्टमा पढ्नलाई रङ्ग र कागजका रसायनहरुको उत्पादनमा लाग्ने अर्गानिक रसायनशास्त्रका नियमहरु छँदै छन्। अब प्रश्न उठ्छ के हामीहरुले योगदान पनि गरेका छौँ ? यसको उत्तर हो, गरेका छौँ । हार्वड, अक्सफोर्डका वैज्ञानिकहरुको जत्ति नभए नि योगदान गरेका छौँ।
नोवेल पुरस्कार विजेता अर्थशास्त्री अमर्त्य सेनले आफ्नो पुस्तक आर्गुमेन्टेटीभ इन्डियन्समा निकै सुन्दर वर्णन गर्दछन् – कसरी पूर्वीय समाजले विज्ञान, दर्शन र कलामा पश्चिमा समाजसँग परापूर्वकाल देखि गहन अन्तरसंवाद गर्दै आएको छ ? अरु त अरु हाम्रो देशमा जन्मेका वुद्धको हामीले पुज्ने मुर्तिको आकार ग्रिक मुर्तिकलामा आधारित छ । गणितमा हाम्रो समाजले शुन्य अंक पश्चिमलाई साटेको छ । अहिलेको समयमा पनि विज्ञान निर्माणमा हाम्रो सानो ठुलो सहभागिता छ । पछिल्ला केही महत्वपूर्ण खोजहरु जस्तै कालो छिद्रको तस्विर, हिग बोसनको खोज, र मंगल ग्रहमा पानी पत्ता लगाउनुमा देश विदेशमा रहेका नेपाली वैज्ञानिकहरुले सानो ठुलो भुमिका खेलेका छन् – केही समाचारमा पनि आए। अन्तराष्ट्रिय अखडामा प्रमुख खोजकर्ता नहोलान्, केही योगदान त गरेकै छन्। राष्ट्र भित्र हेरौँ – ‘ सिर्जना ’ जातको गोलभेडाको अनुसन्धानले हाम्रो भान्सामा गोलभेडा जुनसुकै मौसममा पनि प्रयोग हुन्छ । स्वास्थ्य मन्त्रीद्वारा लोपारिने डाक्टरले लेखेकै वैज्ञानिक लेखका भरमा नेपाली सेनाको लाज छ र अझै नेपाली सैनिक शान्ति सेनामा जादैँ छन् । नाभी मलमको सफलताले नवजात शिशुको हेरचाहमा थुप्रै देशमा यो ब्राण्डनै बनेको छ। अर्थात् ठुलो भेलमा पौडिने आँट अझै नआए पनि बेला मौकामा तर्नुपर्ने खहरेहरु तरेका छौँ र केही दशकमा ठुलो भेलमा पौडिने सामर्थ पनि राख्नेछौँ।
अब विज्ञानलाई कोरोनाले पछार् यो तिर जाऔँ । हामी मध्य केही हजार नेपालीलाई छाडेर बाकीँको जीवन यापनमा विज्ञान सिर्जनाले सरोकार राख्दैन । अझ भनौँ भने विज्ञानको सिमानामा (फ्रन्टियर) काम गर्ने त सयौँमा सीमित हौँला । यसको कारण सरलमा भन्दा हाम्रो श्रम र कृषिमा आधारित अर्थव्यवस्था हो । खासै विज्ञानको सिर्जनासँग लेनदेन नहुनाले हामीलाई विज्ञानमा नयाँ के हुदैँ छ थाहा हुदैन । थाहा हुनेमा कन्जुमर ईलेक्ट्रोनिक्स र ठुला खोजहरु मात्रै हुन् । नेपाली विज्ञान पत्रिका खासै नहुनुले पनि आम मानिसमा धेरै चासो छैन तिरै सङ्केत गर्छ । यस्तोमा सामाजिक सञ्जालमा विज्ञानलाई कोरोनाले पछार्यो लेख्न सजिलो छ । १९१८ को स्पानिस फ्लुमा भारतमा मात्रै एक करोड असी लाख मानिसको मृत्यु भएको थियो जुन त्यस बेलाको जनसंख्याको ६ प्रतिशत हुन्छ । प्रसिद्ध भारतीयकवि निरालाले आफ्नी पत्नी र परिवारका सदस्यहरू जलाउन पर्याप्त दाउरा पाएनन् अनि संस्मरणमा लेखे “ गंगा मृत शरीरहरुले भरीएको थियो ” । ब्रिटिश राजका स्यानेटरी कमिश्नरले १९१८ को प्रतिवेदनमा लेख्छन् “ गंगामात्र नभई भारत भरिका धेरै नदीहरू लासले भरिका थिए ” । यो लेख लेख्दा सम्म भारतमा सत्तरी हजारमा कोरोनाको संक्रमण देखीएको छ र दुई हजारको मृत्यु भएको छ । लकडाउनले दुर्घटनामा आएको कमीले गर्दा भारतमा केही हप्ता यता मृत्यु दर घटेको छ । कोरना कहरमा गंगामा सामान्य अवस्थामा भन्दा कम मृत शरीरहरु जलेका छन्, अझै बगेका छैनन् । प्रारम्भिक अवस्था भएपनि, भारतीय अनुभवले यो चोटीको महामारीमा जिवनको क्षति पहिले जति नभएको देखाउँछ ।
स्पानिस फ्लुको समयमा भाईरसलाई ल्याबमा कल्चर गरेर सुरक्षित नमुना राख्ने विधि थिएन । जब १९७० पछि डिएनए र आरएनएको परिक्षण गर्ने विधि वैज्ञानिकहरुले पत्ता लगाए, स्पानिस फ्लु संसारबाट हराएको दशकौँ भएको थियो । रोग लागेर मरेकाहरुको लास कुहिसकेको थियो । तै पनि वैज्ञानिकहरुले नसडेको लासमा स्पानिस फ्लुको जिवाणु भेटिन्छ की भनेर लागि परेका थिए । १९९७ मा अमेरिकाको अलास्कामा झन्डै ७५ वर्ष पहिले स्पानिस फ्लुबाट मृत्यु भएकी इस्किमो महिलाको लास हिउ भित्र भेटियो। उनको फोक्सोबाट लिएको भाइरसको आंशिक नमुना र थप अरु नमुनाहरु प्रयोग गरेर २००५ मा आरएनएको पुरा अनुक्रम बनाउन वैज्ञानिकहरु सफल भए । अनुक्रमबाट १९१८को भाइरसलाई वैज्ञानिकहरुले ९० वर्ष पछि ल्याबमा बनाए अनि जाँचे। वैज्ञानिकहरुले स्पानिस फ्लुमा युवा बुढाभन्दा के कारणले धेरै मरे भन्ने पत्ता लगाए। अरु अध्ययनमा वैज्ञानिकहरुले स्पानिस फ्लुले सङ्कम्रित भएपछि उपचारको क्रममा मानिसहरु फ्लु भन्दा अरु ब्याक्टेरियाले नै संक्रमित भएर धेरै मरे भन्ने पनि पत्ता लगाए। अहिलेका हाम्रा अस्पतालमा हेरौँ । डाक्टरहरुले पिपिई लगाएका छन्। विरामीहरु आइसलेसनमा छन्। नियमित स्वास्थ्यको जाँचपड्ताल हुन्छ र हरेक कुरामा सबैले पालना गर्ने प्रोटोकलहरु बनाइएको छ । हामीले पुराना महामारीहरुको दशकौँ लगाएर गरेको वैज्ञानिक विश्लेषणले दिएको जानकारीहरु अहिले महामारीमा निक्कै काम लागेको छ । विना वैज्ञानिक विश्लेषण न हामी सँग प्रोटोकलहरु हुने थिए न त पिपिई लगाउनु पर्ने जानकारी नै ।
अर्को कुरा हामीले अहिले कोरोनाको प्रतिरोधमा प्रयोग भएका उपकरणहरु कति जटिल, शुस्म र नयाँ हुन् भन्ने पनि चाल पाएका छैनौँ । पिसिआरकै (पोलिमरेज चेन रियाक्सन) कुरा गरौँ। यो तरिका अमेरिकी वैज्ञानिक केरी मुलिसले १९८३मा पत्ता लगाए र १९९३मा नोवेल पुरस्कार जिते । कोरोनाको परीक्षणको लागि नाकको भित्रि भागबाट स्वाब लिइन्छ। कोरोनामा आरएनएमात्रै हुन्छ जसलाई पिसिआर गर्न पहिले डिएनएमा रुपान्तरण गरिन्छ । नमूनाको रुपान्तरित डिएनए कोरोनाकै हो वा अरु भाइरसको भनेर जाँच्न टेस्ट किटको प्रयोग गरिन्छ । टेस्ट किटमा हुने भनेको प्रइमरहरु (डिएनएकै टुक्राहरु) हुन् जुन कोरोनाको डिएनएमा मात्रै जोडिन्छन् । प्रइमरहरु जोडिएका केही कोरोनाको डिएनएहरु पिसिआर मेसिनमा राखेर पोलिमरेज चेन रियाक्सनको विधिबाट करोडौँको संख्यामा पुर् याइन्छ र नमूनामा कोरोनानै छ भन्ने पुस्टी गरीन्छ । पिसिआर आधिकारीक हुनुको पहिलो कारण नमूनामा निकै थोरै मात्रामा भाइरस छ भने पनि पत्ता लगाउँछ । दोस्रो कारण प्रइमरहरु कोरोनाको डिएनएमा मात्रै जोडिन्छन् । अब यो कोरोनाको पिसिआर टेस्ट किट बनाउन के चाहिन्छ सोचौँ । यो डिएनए अधारित पद्धती हुनाले सर्वप्रथम हामीलाई कोरोनाको आरएनएको पुरै अनुक्रम चाहियो । कोरोनाको आरएनएमा झन्डै ३० हजार आधार जोडी हुन्छन् । सरल भाषामा श्रङ्खलामा रहेका ३० हजार सड्केतको रुपमा बुझौँ । ३० हजार सड्केत लामो आरएनए १ सेन्टिमिटरको ८० हजार भाग जति सानो कोरोना भाइरसभित्र गुजिल्टिएर बसको हुन्छ । आकार कति सानो हो नबुझे यसरी बुझौँ - कोरोना भाइरस हाम्रो रक्तकोशिका भन्दा झन्डै ६० गुना सानो हुन्छ । यति सानो ठाउँमा कोचिएको आरएनए चिनीयाँ वैज्ञानिकहरुले रोग फैलेको केही हप्तामै सार्वजनिक गरे । फ्रान्सको पास्चर इन्सटिच्युटका वैज्ञानिकहरुले पेरिसमा रोग देखिएको ६ दिनमै पुरा अनुक्रम इन्टरनेटमा राखे । १९८३ मा एचआइभि पत्ता लागे पछि यही उपलब्धि हासिल गर्न २६ वर्षसम्म यानी २००९ सम्म कुर्नु पर् यो । थुप्रै पुरा अनुक्रमको नमूनाहरु हासिल गरेपछि टेस्ट किटको प्रइमरहरुको डिजाइन सुरु गर्न सकिन्छ । त्यसको लागि कोरोनाको आरएनएको कुन भागले कोरोनाको फिगर प्रिन्टको काम गर्छ पत्ता लगाउनु पर् यो । यसको लागि पछिल्ला दश वर्षमा पत्ता लागेका र बनाइएका क्रिस्पर जस्ता डिएनए सम्पादन गर्ने विधिहरु, सफ्टओयरहरु र मसिनहरु महत्वपूर्ण छन् । यो पछिल्लो दशकमा जेनेटिक विज्ञानमा ठूलै क्रान्ति भएको छ। २००३ मा १३ वर्ष र ३ खर्ब डलरमा सम्पन्न भएको मानव जिनोम परियोजनाले पहिलो चोटि मानिसको पुर्ण जेनटिक अनुक्रम पत्ता लागएको थियो । अहिले त्यहि गर्न केहि दिन र १०० डलर भए पुग्छ । यि नयाँ प्रविधिहरुले गर्दानै कोरोनाको टेस्ट किट निकै चाडै बने र हामीहरुले १⁄२ महिना जतिमै नेपालमा किनेर ल्याउन सफल भयौँ । अब सोचौँ यी वैज्ञानिक खोजहरु नहुदाँ हुन् त हामीले कसरी लक्षणनै नदेखिएका मानिसहरुमा कोरोनाको जाँच गरी आइसोलेसनमा पठाउन सक्ने थियौँ । कोरोना दश वर्ष अघिमात्रै देखा परेको भए पनि समयमा टेस्ट किटको अभावले कोरोना परालको आगो जसरी फैलिने थियो र हामीले रोग व्यापक भएपछि मात्रै चाल पाउने थियौँ । तैपनि कोरोनाले विज्ञानलाई पछार् यो भन्ने सोच हामीमा गहिरो गरी बसेको छ।
विज्ञानलाई पछार् यो भन्ने सोचको एक कारण हामी विज्ञानको विधिबारे जानकार नहुनु पनि हो । हाम्रो शरीर, पृथ्वि, वायुमण्डल, र व्रह्माण्ड सरल छैनन् । हामीहरुको सोच्न, देख्न, र विश्लेषण गर्ने क्षमताहरुका सिमितता छन् । हामीहरु विकिरण, भाइरस, टाढाका तारा, रेडियो तरङ्ग, परमाणु इत्यादी प्रत्यक्ष अनुभव गर्न सक्दैनौँ, न त प्रकृतिका नियमहरु सोझै थाहा पाउन सक्छौँ । यी कुराहरु हामीले हठ गरेर हुँदै होइनन् भनेपनि यिनिहरुले हामीलाई असर पार्न छोड्दैनन् र यिनलाई अध्ययन गर्न सक्ने हामीसँग भएको एउटै उपकरण विज्ञान हो । हामीले शितला माजू भनेर विफरको अर्थ लगाउन खोज्यौँ — इन्द्रदेवबाट मौसमको, र ब्रह्मावाट हाम्रो अस्तित्वको । यस्तो अर्थ्याउने हामी नेपाली एक्लै होइनौँ । संसारका सबै समाजहरुले विभिन्न किसिमले अर्थ्याउने कोशिश गरेका थिए र छन् । तैपनि शितला माजूको पुजाले आत्मिक सान्त्वना बाहेक अरु केहि दिएन । खोपको प्रयोग नहुन्जेल विफरलागि रह्यो । मौसमलाई भू–उपग्रह चाहियो । हब्बलका यान्त्रिक आखाँले ब्रह्माण्ड चिहाउँदा सूर्य जस्ता अनगिन्ति तारा रहेछन् – अझ बढि ग्रह रहेछन् भन्ने पत्ता लाग्यो। जटिल संसारलाई बुझ्न समय र परिश्रम लाग्छ । हजारौँ वैज्ञानिकहरुको ठुलो समयको मेहनतले विज्ञानमा नविन खोजहरु हुन्छन् । पछिल्लो वर्षको कालो छिद्रको तस्विरको लागि दशकौँ समय र थुप्रै वैज्ञानिकहरुको करियर भरीको उर्जा खर्च भएको छ । सरलरुपमा भन्दा हलिवुड फिल्ममा जस्तो प्रतिभा र प्रेरणाले भरीपूर्ण एक व्यक्तिले एकै रातमा चमत्कारीक आविष्कारहरु गर्न सम्भव छैन । आधुनिक विज्ञान १८औँ र १९औँ शताब्दीको जस्तो छैन – एक व्यक्तिले पुरै जीवनकालमा कुनै एक विषयमा नविन योगदान पुर्याउन सक्नु पनि ठुलो कुरो हो । नयाँ आविष्कार र खोजको लागी समय, प्रतिभा र लगानी चाहिन्छ । लगानी कहाँ हुदै छ र कसले गर्दै छ भन्ने कुराले ठूलो अर्थ राख्छ । इन्टरनेट यति विकसित हुन १९७० ताका अमेरिकी रक्षा मन्त्रालयको लगानी र एलसीडी स्क्रीनमा जापानी कम्पनीहरुले गरेको लगानीको भुमिका छ । लगानि नहुदाँ हाम्रो आविश्कार केन्द्रको चाल हुन्छ - प्रतिभाको अपुर्ण प्रयोग । जुन क्षेत्रमा लगानिको कमी छ त्यहाँ विज्ञानको विकास पनि सुस्ताउँछ । सारमा भन्दा रातारात टेलिस्कोप बनाउने क्षमताले खोप बन्दैन – खोप बनाउन खोप बनाउने विज्ञानमै लगानी हुनुपर् यो, प्रतिभा जम्मा गर्नु पर् यो र लाग्ने समय सम्म कुर्नु पर् यो । तर हामी विज्ञानको विधिसँग परिचित नहुदाँ के लाग्छ भने - मंगल ग्रहमा यान पठाउन सक्नेले जाबो खोप बनाउन नसक्ने ।
समाजमा देखिएका कोरोना प्रतिको धारणा बुझ्न हामीले कग्नेटिभ (cognitive) वैज्ञानिक डोनाल्ड नर्मनको एफोर्डेन्स (affordance) शब्दको सहायता लिउँ । एफोर्डेन्सलाई सरलिकृत गरेर भन्दा यसले कुनै वस्तु वा प्रणालीले आफूसँग अन्तर्क्रिया गर्ने प्रयोगकर्तालाई स्वतः आफ्नो बारेमा दिने जानकारी हो । जस्तै कुर्सीको समथर बस्न मिल्ने भागका कारण हामी स्वतः कुर्सी बस्नका लागि हो भन्ने थाहा पाउँछौँ । खाट, मुढा, र गुन्द्रीहरुले पनि समथर भागका कारण बस्न मिल्ने गुण एफोर्डेन्स गर्दछन्। कपमा हुने खोप्चोले चिया राख्ने, र कपको गोलाकार बाहिरी भाग र काने आकारले समात्ने जानकारी दिन्छन् । त्यसैले त हामी कसैले कुर्ची, कप, खाट, मुढा र गुन्द्रीहरुको बारेमा पढ्दैनौँ, सोध्दैनौँ, सिधै उपयोग गर्छौँ । वस्तुहरुको एफोर्डेन्स, सामाजिक ज्ञान (knowledge embedded in social sphere) र पुरानो अनुभवको अधारमा हामीले नयाँवस्तु वा प्रणालीसँग अन्तकृया गर्दछौँ । तर कहलेकाहीँ वस्तुको एफोर्डेन्सले हामीलाई चाहिने ज्ञान दिदैन अनि हामीले अल्पज्ञानका कारण नोक्सान बेहोर्छौँ। पानीको धेरै तातो गिलास समातेर हामी मध्ये थुप्रैले हात पोलेका छौँ – गिलास तापसँगै रातो हुदोँ हो त हामीले जानीजानी हात झोस्ने थिएनौँ । कहिले काहिँ पुरानो अनुभव भन्दा नयाँ वस्तुको प्रणाली विल्कुलै फरक हुन्छ अनि हामी पुरानै अनुभवको अधारमा अघि बढ्दा फेरी फेल खान्छौँ । अब यो प्रणाली अन्तरक्रियाको विश्लेषण शैलि कोरोनामा लगाउँ । कोरोनाको सबैले जानेको र सुनेको ज्ञान (कोरोना रोगको एफोर्डेन्स) के के हुन् त ॽ कोरोना स्वास प्रणालीको सरुवा रोग हो, छातिमा असर पार्छ, लागे घाटीँ खसखसाउँ छ र ज्वरो आउँछ । अब सोचौँ यस्तै हाम्रो पुराना अनुभवहरु कहाँ छन्– सबैलाई रुगाखोकीमा र केहीलाई फ्लूको ज्वरोमा छ । रुगाखोकीमा हामी कागती, ज्वानो, अदुवा, जिरा, तातो पानी जस्ता घरमै उपलब्धहुने वस्तुहरु प्रयोग गरेर रुगाखोकी रोक्ने प्रयास गर्छौँ । यती जानकारीको आधारमा हामी औसत व्यक्तिले कोरोनालाई कसरी रोक्न खोज्छ फेरहिस्ते लगाउन सक्छौँ । एफोर्डेन्स र अनुभवहरु जोड्ने सामान्य व्यक्तिले त्यही ज्वानो, अदुवा, जिरा, तातो पानीकै अवतारी विधि लगाउने हो–फेसबुके भिडियोका अंकल आन्टीहरुको कोरोना विधि पनि त यहि थियो । किन नगरपालिकाहरुले क्लोरिनको झोल गाडीको टायरमा छर्के भन्ने पनि यहि एफोर्डेन्स र अनुभवहरु जोडे छर्लङ्ग हुन्छ । नगरपालिकाहरुको सरुवा रोगमा संगठित भएर लागेको ठूलो पुरानो अनुभव भनेको डेङ्गुमा मच्छेटमारा छर्कने मात्रै हो । यो अनुभवलाई एफोर्डेन्ससँग मिसाउँदा हामीले क्लोरिन पानीले मानिस र गाडि छर्केर संक्रमण रोक्न खोज्यौँ । बुझ्नु पर्ने कुरा के हो भने यो प्रतिक्रियामा कुनै गलत नियत लुकेको छैन। यो मानिसहरुको स्वभाविक अन्तर्क्रियाको संयन्त्रले गर्दा भएको हो – नभए हाम्रा हरेक कृयाकलापहरुमा तथ्य विश्लेषण गरेर बसे कृयाकलापहरु ह्याङ्ग भएको कम्प्युटर जस्ता हुने थिए । समस्या आउने भनेको एफोर्डेन्स र अनुभवको वास्वविकतासँग तारतम्यता नमिलेर हो । हजारौँ वर्ष मानिसहरु पखालामा तिर्खाले मरे । किन ॽ पखालामा छेरपटी आउँदा शरिरमा पानी धेरै भयो, पानी कम भए छेरपटी बन्द हुन्छ भन्ने सोचले । पखालाको एफोर्डेन्स भनेको धेरै पानी भयो भन्नेनै हो तर यसले शरिरमा पानीको कमी हुदैँ छ भन्ने तथ्यको ठिक उल्टो जानकारी दिन्छ । यहि एफोर्डेन्सको अधारमा गरीएको निर्णयले मान्छे मार्छ । यसको मतलब हो एफोर्डेन्स र अनुभव मात्रै काफि छैनन् । हामीले वास्तविकता बुझ्नु पर्छ – रोग के कारणले लाग्छ, कसरी सर्छ, र शरिरमा के हुदैँ छ । हामीसँग भएको वास्तविकता बुझ्ने एक मात्र साधन छ – विज्ञान ।
वैज्ञानिक खोज र अनुसन्धानले हाम्रो अन्तर्क्रिया गर्ने प्रकृयाको तेस्रो आयाम सामाजिक ज्ञानलाई समृद्ध पार्छ । अहिले हामीहरुले सिकेको ६ फिटको दुरी राख्ने, साबुन पानीले हात धुने र मास्क लगाउने समाजिक ज्ञान हो । यो स्वतः वैज्ञानिक र वस्तु परक हुन्छ भन्ने छैन। सुदुर पश्चिमका पहाडि जिल्लामा छाँउ बार्ने पनि लामो समय समाजिक ज्ञानको रुपमा रह्यो । जसरी शितला माताले विफर ल्याउने भाष्य भित्र शितला माताको पुजाले विफर साम्य पार्ने स्वभाविक सामाजिक ज्ञान हो, त्यसरीनै मास्टो पुजाको संस्कृतिमा छाँउ नबार्नु मुर्खता । मुख्य कुरा समाजिक ज्ञानले वस्तुको आन्तरीक प्रणाली कसरी काम गर्छ भनेर वस्तुको एफोर्डेन्समाथिको भाष्य तयार पार्छ । मास्टो पुजाको संस्कृतिमा छाँउ नबारे दैविशक्तिहरुले रिसाएर विभिन्न रोग व्याधि फैलाउँछन् । यो भाष्यमा विश्वास गरे छाँउ बार्नै पर्यो — बार्दा महिलाहरुको विचल्ली हुन्छ । विज्ञान र मास्टो बीचको फरक भाष्यहरुको प्रमाण मात्रै हो । भाइरसलाई विशेष उपकरणहरु प्रयोग गरेर अध्ययन गर्न सकिन्छ र प्राप्त ज्ञानलाई उपयोग गरेर साबुन पानीले हात धुने भन्ने सिक्न सकिन्छ । अझ भाइरसको भाष्य ठिक छ की छैन जाँच्न सकिन्छ – दार्शनिक कार्ल प्रोपरको शब्दमा फल्सीफायविलिटी (falsifiability) । मास्टोको भाष्यमा मास्टोलाई विश्वास गर्ने बाहेक अरु उपायनै छैन। गलत भाष्यले ज्यान मात्र होइन समाजनै उथलपुथल पार्दछ । एउटा चरम उदाहरण दक्षिण अमेरिकी देश पेरु र इक्वेडरको सीमानामा बस्ने जिभारो आदिवासीलाई लिन सकिन्छ । लरेन्स किलि आफ्नो १९९६ को सभ्यता अघिको युद्ध नामको पुस्तकमा लेख्छन् – जिभारो आदिवासीमा वार्षिक औसत कुल पुरुष मृत्यु मध्य ६० प्रतिशत युद्धले हुन्थ्यो । किन होला ॽ पक्कै पनि यसमा केही योगदान अन्य कुराहरुको पनि छ तर सबैभन्दा ठूलो कारक जिभारोहरुको जिवन र मृत्युको भाष्य हो । जिभारोहरु आत्ममा (आरुताम) विश्वास राख्थे तर व्यक्ति आरुताम लिएर जन्मदैन । यो आरुताम पाउन अरु कोही जिभारो व्यक्तिलाई मार्नुपर्छ। मारेपछि मर्ने जिभारोको आरुताम मार्नेमा सर्छ । समस्या के छ भने व्यक्तिमा आरुताम नभए व्यक्ति मर्छ र आरुतामलाई रिचार्ज गरेजस्तो केही वर्षमा फेरी अरुलाई नमारे आफ्नो आरुताम अर्को व्यक्तिमा सर्छ र आफू मरिन्छ । यस्तो कथ्यमा विश्वास गर्दा आफू बाँच्नलाई केही वर्षान्तरमा अरुलाई नमारी सुखै छैन। अन्ततः त्यति धेरै पुरुषहरु बाँच्नका लागी मारिए । त्यसैले भाष्यहरु वास्तविकतामा आधारित हुनु पर् यो – नभए दुख पाइन्छ ।
केहि समय अघि एक राष्ट्रिय दैनिकमा एक परिचित लेखकले लेख्नु भयो किन आधुनिक चिकित्साले कोरोनाको उपचारमा होमियोपेथिबाट ज्ञान लिन नसकेको होला । यसको छोटो उत्तर होमियोपेथिको भाष्य वास्तविकतामा आधारित नभएर हो । हामीले प्रयोग गर्ने मोबाइलको प्रोसेसरमा हुने सेमिकन्डकटर बनाउँदा डोपिङ्ग गर्छौ। डोपिङ्ग गर्दा अणुहरु गनेर मिसावट गर्ने हो– चाहिनेभन्दा घटिबढीले कुरा बिग्रन्छ । यसको अर्थ हामीले एक एक अणुहरु गन्न सक्छौँ । यूटूबमा वास्तविक अणुहरुलाई नै चलाएर बनेको छोटो फिल्म छ । होमियोपेथीको भाष्य भन्छ जति घोल्यो त्यति शक्तिशाली । होमियोपेथीका औषधिहरुमा औषधिको अणुहरु गन्न खोज्यो, अणु हुन्न । अणुहरुको आधारमा खाली पानीमा र औषधिमा फरक भेटिन्न । त्यहि पनि औषधि हो भन्दा पत्याउनै पर्ने । विज्ञानको अणुहरुप्रतिको भाष्य गलत थियो भने सेमिकन्डकटर भएका मोबाइल र ल्यापटप केहि काम गर्दैनथेँ तर काम गरेकै छन् । ल ठिकै छ मानिसहरु विभिन्न आस्था र अनुभवका आधारमा होमियोपेथिमा विश्वास गर्न छोड्दैनन्- वैज्ञानिकहरुले त तथ्यलाई छोड्नु भएन नि ।
सामाजिक संजालमा “ धर्मगुरुहरुले ” पनि कोरानाको सामाजिक ज्ञानलाई धुल्मिलाउने कोशिष गरेका छन् । एक युवक पास्चरको कोरोना नासक मन्त्र थियो-राबालाकालबा सान्दे रेबेले कारबाबा सान्दरलाबा । प्रज्ञाप्रतिष्ठानका उपकुलपति डाक्टर साबको मन्त्र चाहिँ ॐकिच वँ वँ गच तितिये स्वाहा। एकफिल्मे हिरो पनि भएका नेपाली युवा ज्योतिषको कोराना विधि शंख फुक्ने, घण्टी बजाउँने र शुद्ध गाईको पञ्चामृत खाने थियो । उनले छुटाएको गौमूत्र भारतीय भाजपाका हिन्दु कार्यकर्ताहरुले कार्यक्रमनै गरेर सामूहिक पान गरे । मूत्रपान गर्ने केही असला भक्तहरु पछि विरामी पनि परे । यो विश्व भरीको साझा समस्या हो । पाकिस्तानी मुस्लिम गुरुहरु, अमेरीकी र कोरियन पास्चरहरु सबैलै आफ्नो धर्म नमान्नेलाई आफ्नो ईश्वरले दिएको दण्डको रुपमा कोरोनालाई परीभाषित गरे । केहीले कोरोनाको उपचार आफ्नो धर्ममा रहेको घोषणा गरे । हामीहरुले फरक धर्मीलाई खिसिटिउरी गर्यौँ र आफ्नालाई केही कम । शंखैबाजामा हामी बहुलको धार्मिकता जोडियो - यशुमा विदेशी र अल्प संख्यकको । शितला माता र यी उपायहरुमा केही फरक छैन । समस्या उहीँ हो – तथ्यमा आधारित नहुनु । फलतः दुखः ।
“धर्मिक” आस्थाद्वारा कोरोनालाई व्याख्या गर्नुपर्ने कारण “धर्म”को आवश्यकता होइन । यो त यि सामाजिक संजालका धर्मगुरुहरू को आवश्यकता हो । न त ती पाश्चरले कोराना मार्ने खुबी राख्छन् न त हाम्रा कुलपतिबा । तर यो दुवैको धर्म जोडेर आफूसँग नभएको विज्ञता र शत्तिको प्रदर्शन गर्ने र सामाजिक संजालमा लाईक र सेयरको माछा मार्ने खेलो हो। यसमा हामीहरुको पनि दोष छ । प्रम ओलीको भृकुटी मण्डप महावाणी सम्झौँ। प्रमले उद्घोष गर्नुभएको थियो , पुष्पक विमानको आधारमा हाम्रो सभ्यताले राइटब्रदरलाई जित्यो । झन् नौग्रह नेपाली ज्योतिषीले पत्ता लगाएपछि मात्र वैज्ञानिकहरुले पुष्टि गरे । यसैको सेरोफेरोमा रहेर हामीहरु मध्य धेरैले तर्क गरेका छौँ, र सुन्दा टाउको हल्लाई हल्लाई समर्थन जनाएका छौँ । हामीले प्रम ओलीलाई गाली र गिल्ला गरेपनि हामी धेरै हिन्दु नेपालीहरुको मनमा यस्तै गडेको छ — ऋषिहरुले सबैकुरा पहिल्यै पत्ता लगाइसकेका थिए, विज्ञानले त वेद पुराणका कुराहरु फेरी फेला पारेको हो। यी तर्कहरुको आसय हिन्दु सभ्यतालाई टेको लाउने र घुमाउरो पाराले विदेशी विज्ञानलाई छिर्के हान्ने हुन्छ । सायद यो नेपाली समाजको अवचेतन मनमा रहेर गडेर रहेको अल्प विकसित हुनुको पिडाले निम्ताएको हीनतावोधले हो। हामीहरु कला, संस्कृति र प्राकृतिक सौन्द्रयतामा हीनता महसुस गर्दैनौँ– कारण हामीहरु यी क्षेत्रमा धनी छौँ। जब विज्ञानको र औषधिको कुरा आउछ, हामीहरु वेदभित्रको सबै विज्ञान र आर्यूवेदको गुणगान गाउन थाल्छौँ । विदेशीले आफ्नो उत्पादन बेच्न हाम्रो जडिवुटीलाई असफल करार गरको सोच्न थाल्छौँ। हामीहरुले सतुवा नघोटेर सिटामोल खान थालेको कुनै विदेशीको षडयन्त्रले होइन। सबैको सहजताले हो । विदेशीले असफल भन्यो भनेर हाम्रा जडिवुटी असफल हुने पनि होइनन् । कुनै विदेशीले के भन्छ होइन, वैज्ञानिक परीक्षणमा भर पर्ने कुरा मुख्य हो ।
हाम्रो सभ्यताको विज्ञान सिर्जनामा भूमिका छ भन्ने इतिहासका प्रमाणित दस्तावेजहरुले भन्दछन् । तैपनि हामी प्रमाण नभएका कुराहरु जोडेर विज्ञानलाई छिर्के हान्न खोज्छौँ । यी प्रमाण विनाका तर्कहरुले हाम्रो वास्तविक भुमिकालाई ओझेल पार्छ र मिथ्यालाई प्रोत्साहन । मानौँ वेदभित्र सबै विज्ञान समेटिएको छ । त्यसो भए वेद कण्ठस्त पारेका हामीहरु संसारकै प्रविधिमा सबैभन्दा अघि हुनुपर्ने हो, तर छैनौँ । वेदहरु उत्कृष्ट हुन विज्ञान समेटिनु पर्दैन, धर्म र दर्शनमा राम्रो भए पुग्छ। तर भित्र गडेको हिनताले हामी धर्म ग्रन्थलाई विज्ञानमा पनि प्रथम बनाउन खोज्छौ । प्रथम बनाउन प्रमाण जुटाई वैज्ञानिक विधि पालना गरे ठिकै थियो तर हामीसँग भएको तथ्य उड्ने विमान र जनावरको टाउको जोडेको किताबमा लेखिएको मात्रै हो । यसो गर्ने हिन्दु मात्रै होइनन् । मुस्लिम प्रचारकहरु कुरानमा गर्भको मिहिन वर्णन छ भन्ने दावी गर्दछन् । ईसाईहरु वाइवलमा एटम बमको उल्लेख छ भन्ने गर्छन् । तर शल्यक्रिया र रोगको उपचार गर्न कुरान र पुराणको वर्णनले पुग्दैन — वैज्ञानिक पद्धतिनै चाहिन्छ । औषधिविज्ञानबाट मात्रै रोगको सामाजिक ज्ञान निर्माण गर्नु सही हुन्छ ।
सामाजिक ज्ञान निर्माणमा सूचनाको विश्वासनियताको ठूलो अर्थ हुन्छ । बाह्यता (externality) शब्द महामारीमा निक्कै काम लाग्छ । कोहि एक व्यक्तिलाई रोग लाग्नुको बाह्यता बाकीँमा रोग फैलिने संभवना बढ्नु हो । महामारीमा कोही असुरक्षित भए बाकीँ पनि असुरक्षित हुन्छन् । उपाय सबै सुरक्षित हुनु हो, जुन नधुलमिलिएको सामाजिक ज्ञानको अधारमा मात्रै संभव छ । जस्तै साबुनले हात धुनु निकै ससक्त कार्य हो। यो एक त काम गर्छ, दोस्रो सबैले गर्न सक्छन र तेस्रो हात धुदाँ भोक्ताको साटो कर्ताको अनुभव हुन्छ। भौतिक दुरी पनि यही कारणहरुले राम्रो रोग प्रतिरोधी कार्य हो। महामारीको निरिहता र त्रासमा कर्ताको अनुभवले हामीलाई आँट र हौसला दिन्छ । तर शासकले महामारीमा आफूलाई ज्ञान र शिपको एक्लो महिसा ठान्दा आम मानिसमा दमघुट हुन्छ । ऊ त्रसादीमा भोक्तामात्र ठानिदा शासक प्रति सन्देह गर्न थाल्छ–कतै निरिह भएको मौका छोपेर शासकले मनपरी त लादेन, भलै शासकले साच्चै बढि भन्दा बढि कल्याणकारी काम गर्न खोज्दै छ। अनि ऊ षडयन्त्र खोज्न थाल्छ । जब सम्म शासकले आफ्नो ज्ञानको स्रोत र निर्यणका आधारहरुलाई समाजिक ज्ञान बनाउँदैन, आम मानिसले ति ज्ञान र निर्णयमा विश्वास गर्ने वातावाण बन्दैन। आम मानिस सम्भाव्य शासकीय षडयन्त्र र असक्षमताको डरले आफ्नो स्वविवेकले आउने क्रियाकलाप गर्छ । स्वविवेकले आउने क्रियाकलाप वैज्ञानिक र विधिसम्वत हुनु पर्दैन । एकचोटि समाजिक ज्ञानमा षडयन्त्रको डर वा अविश्वास मिसियो भने समाजको एउटा ठूलो हिस्साले महामारीलाई महामारीको रुपमा नलिई कसैको जालझेलको रुपमा मान्ने खतरा हुन्छ। अनि आम मानिसको क्रियाकलाप शासकले निर्धारण गरेको महामारी विरोधी कार्यक्रमसँग मेल खान्न । केहीको हेलचेक्र्याइले सबै असुरक्षित हुन्छन् । अन्ततः महामारीको बिरूद्धको सार्वजनिक कार्य फेल खान्छ । आखिर महामारी त महामारी नै हो । जालझेल माने-नमानेपनि मान्छेको ज्यान गईहाल्छ। त्यसैले लोकतन्त्र र जवावदेहीताको महामारीकाबेला अझै बढी खाँचो हुन्छ।
अमेरीकी र जर्मन नेतृत्वको कोरोना प्रतिको फरक प्रतिक्रिया समाज, कोरोना र विज्ञान प्रतिको फरक धारणाले हो । डोनाल्ड ट्रम्पले सुरुका केही महीना राजनीतिक खेलका लागी आम अमेरीकीमा कोरोनाप्रति अविश्वासको खेती गरे । उनले कहिले कोरोना फ्लु जत्तिको नभएको, त कहिले विपक्षीहरुको झुटा प्रचार भन्दैमा केही महिना सके । जर्मनीकी मर्केलको प्रतिक्रिया विल्कुल फरक थियो । सुरुमै देशवासीहरुलाई दुई लाखको मृत्यु हुन सक्ने भन्दै सबैलाई वैज्ञानिक विधिले निर्माण गरीएको बन्दाबन्दीको पालना गर्न आग्रह गरीन् । उता ट्रम्प फिनोलको सुई लगाए हुन्छ कि भन्ने अनुमान गर्दै बसे । एउटै खालको अर्थिक र वैज्ञानिक शक्ति भएका यी दुई देशमा कोरोनाले हुने मृत्युमा आकासजमिनको फरक छ । मर्केल राजनीतिमा आउनु अघि वैज्ञानिक थिइन्, ट्रम्प व्यापारी र रीयालिटि सोका अभिनेता । हामीहरु अमेरीकी समाज भन्दा धेरै हदसम्म राम्रो सामाजिक ज्ञान निर्माणमा लागेका छौँ । हाम्रा सरकार र विपक्षका नेताहरु कसैले पनि कोरोनालाई अफवाह भनेका छैनन् । त्यसको फलस्वरुप आम मानिसहरुले राजनैतिक लाइन अनुसार कोरोनाको वर्गिकरण गरेका छैनन्। हाम्रा मिडियाहरुले कोरोनाको भ्रमपूर्ण खबर छापेका छैनन् । ओली सरकार जस्तै असहिष्णू भएपनि हामीले सरकारको गलत कामको खुलेर विरोध गर्न पाएका छौँ । हाम्रा विभिन्न विशेषज्ञहरुले खुलेर कोरोनाको स्वास्थ्य, अर्थ र समाजमा पार्ने असरका बारेमा छलफल गरेका छन्, जसले गर्दा औसत नेपालीहरुले कोरोनाको बारेमा वैज्ञानिक भाष्यको मौका पाएका छन् । पहिले जस्तो विफरको प्रकोपमा राजाको छोरो जोगाउन काठमाडौँका नेवार परिवारलाई लखेट्ने काम गर्न अहिलेको सरकारलाई छुट छैन । हामी सरकारले सम्पन्नका सन्ततिहरुलाई जेटको व्यवस्था गर्ने तर श्रम गर्नेलाई दिनौँ हिडाउने, हप्तौँ सिमानामा कुराउने गर्दा मन कुडाउँछौँ । हामी सबैको मृत्युप्रतिको सहनशीलता घटेको छ त्यसैले पहिलेका महामारीको दाँजोमा निकै कम मृत्यु हुदाँ पनि हामी सचेत छौँ। यसले हाम्रो समाज दयावान हुदैँ छ र आर्थिक क्षति सहेर पनि हामी जीवनलाई बचाउन खोज्दै छौँ, र सरकारलाई सबैप्रति सरोकार राख्न लगाउँदै छौँ भन्ने देखाउँछ । कोरोना खतरनाक छ तर हामीले आधुनिक विज्ञानको सहयोगमा धेरै हदसम्म महामारीको व्यवस्थापन गरेका छौँ । विज्ञानलाई कोरोनाले जित्यो भनेर सामाजिक सञ्जालमा जतिनै लेखिएता पनि हामीले वैज्ञानिक परिक्षण पछि बनाइएका नियमहरु मान्न छाडेका छैनौँ, जुन मुख्य कुरा हो । कोरोनाको व्यवस्थापनमा अहिलेसम्मकै नविन विज्ञान प्रयोग गरेका छौँ ।कोरोनालाई जित्न विज्ञान, लोकतन्त्र र समाजिक कार्यको मिश्रण प्रयोग गर्दैछौँ । महामारीहरु पहिले पनि थुप्रै आए। पछि पनि आउने छन् । कोरोना पनि सकिनेछ ।